एमाले अध्यक्ष केपी शर्मा ओली र कर्णाली प्रदेशसभा सचिवालयले दिएको भ्याकेटको निवेदनमाथि आज सुनुवाइ हुने भएको छ ।
कर्णाली प्रदेशसभाका चार एमाले सांसदलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्ने सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश खारेजीको माग गर्दै ओली र प्रदेशसभा सचिवालयले भ्याकेटको निवेदन दिएको थियो ।
एमालेका चार सांसद प्रकाश ज्वाला,नन्दसिंह बुढा,अमरवहादुर थापा र कुर्मराज शाहीले पार्टीको ह्वीप उल्लंघन गरेर माओवादी सरकारलाई जोगाएपछि एमालेले उनीहरूमाथि कारबाही गरेको थियो ।
एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीले गरेको उक्त कारबाहीका आधारमा प्रदेशसभाले उनीहरुलाई पदमुक्त गरेको थियो । पदमुक्त भएका नेताहरूलाई न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले पुनर्बहालीको आदेश दिएको थियो ।
केन्द्रीय कमिटीले नगरी दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीले कारवाही गरेको भन्दै अदालतले दिएको अन्तरिम आदेशविरुद्ध एमाले अध्यक्ष ओली भ्याकेटमा गएका थिए । आज सोही मुद्दा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र नहकुल सुवेदीको इजलासमा पेशी चढेको छ ।
यसअघि अन्तरिम आदेश खारेज गर्ने ओली र प्रदेशसभाको निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै अदालतले अर्को पक्षलाई सूचना दिने भनेको थियो ।