काठमाडौं । कोम्याक्स सुविधाअन्तर्गत नेपालले पाउने अस्ट्राजेनिकाको खोप आगामी तीन हप्ताभित्र नेपालले पाउने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय परिवार कल्याण महाशाखा प्रमुख डा.तारानाथ पोखरेलले कोम्याक्स सुविधाअन्तर्गतको अस्ट्राजेनिकाको खोप यही जुलाईको अन्त्यसम्ममा नेपाललाई उपलब्ध गराउने निर्णय भइसकेको बताए । तर कुन मिति र समयमा नेपाल आइपुग्छ भन्ने तय हुन बाँकी रहेको उनको भनाइ छ ।
गोरखापत्रका अनुसार उनले नेपालले अस्ट्राजेनिकाको १५ लाख डोज खोप उपलब्ध गराउन आग्रह गरको भए पनि कोम्याक्स सुविधाअन्तर्गत तीन लाख ५० हजारदेखि १५ लाख मात्रासम्म खोप यो जुलाइको अन्त्यसम्म नेपालमा आइपुग्ने बताए ।
अस्ट्रजेनिकाले उपलब्ध गराउने खोप यसअघि भारतले उपलब्ध गराएको कोभिसिल्ड खोप एउटै कम्पोजिनबाट बनेकाले कोभिसिल्ड पहिलो मात्र लगाएका ज्येष्ठ नागरिका लागि लगाउने सकिने छ ।
नेपालमा २५ लाख ८१ हजार १९५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । त्यसमध्ये सात लाख ४५ हजार ७४४ जनाले मात्रै दोस्रो डोज खोप लगाएका छन् । यो संख्या पहिलो डोज खोप लगाउनेको २८.९ प्रतिशत मात्रै हो । बाँकी ७१.१ प्रतिशतले अहिलेसम्म दोस्रो खोप पाएका छैनन् ।