एजेन्सी। पूर्ण मात्रा खोप लगाइसकेपछि पनि फेब्रुअरी र जुन महिनामा इन्डोनेसियामा कम्तीमा २० जना डाक्टर र १० नर्सहरूको मृत्यु भएको छ।
विज्ञहरूले यतिखेर स्वास्थ्यकर्मीहरूलाई तेस्रो सिनोभ्याक खोप दिन माग गरिरहेका छन्।
नयाँ भेरियन्टका कारण दक्षिण पूर्वी एसियाली देशमा यतिखेर सङ्क्रमितहरूको सङ्ख्या बढ्दो क्रममा रहनुका साथै समाधिस्थल र अस्पतालहरूमा चाप बढेको देखिन्छ।
जकार्ता नजिकैको एउटा खोप केन्द्रमा सयौंको एउटा भिड जबरजस्ती भित्र छिर्न खोजिरहेको थियो। त्यहाँका सुरक्षाकर्मीले भित्र ठाउँ नरहेको भन्दै उनीहरूलाई धैर्य हुन आग्रह गरिरहेका थिए।
२५ करोड जनसङ्ख्या भएको देशमा ८ प्रतिशतभन्दा कम मानिसहरूले मात्र खोप लगाएका छन्। डेल्टाजस्ता नयाँ भेरियन्टका कारण नाटकीय ढंगले सङ्क्रमितहरू बढ्न थालेपछि मानिसहरू खोप सुरक्षा लिनका लागि व्यग्र देखिन्छन्।
भित्रपट्टि स्थानीय मेयर अरिफ विस्मम्यअले मानिसहरूले प्रक्रियाबारे गलत बुझेको भन्दै त्यहाँ आउनु पूर्व दर्ता गरिएको हुनुपर्ने बताउँछन्। बाहिरपट्टि एउटा लाउडस्पीकरको सहायताले सुरक्षागार्डले मानिसहरूलाई घर फर्कन भने पनि कोही घर फर्किन मानेका थिएनन्।
हाल इन्डोनेसियामा दैनिक जसो २० हजार नयाँ सङ्क्रमित देखा परिरहेका छन्। तर जकार्ताबाहिर पर्याप्त मात्रामा परीक्षण नभएकाले त्यस्तो सङ्ख्या निकै धेरै हुनसक्ने विज्ञहरूको भनाइ छ।
फेब्रुअरीदेखि जुन महिनाबीचमा खोप लगाएका ९४९ स्वास्थ्यकर्मीमध्ये ज्यान गुमाउने २० डाक्टर र १० नर्सहरूले सिनोभ्याकको पूर्ण मात्रा खोप लगाएका थिए।
खुला रूपमा नबोले पनि डाक्टरहरूले आफूहरूले निकै जोखिम महसुस गरिरहेको स्वीकार गरेका छन्।