

एजेन्सी। फिलिपिन्समा ९२ जना सवार एउटा सैनिक मालवाहक विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार १७ जनाको मृत्यु भएको छ भने ४० जनाको उद्धार गरिएको छ।
सुरक्षा बलका प्रमुखले जलिरहेको विमानको भग्नावशेषबाट कम्तीमा ४० जनालाई जीवितै उद्धार गरिएको बताएका छन्।
दक्षिण पश्चिममा रहेको सुलु प्रान्तको जोलो टापुमा अवतरण गर्ने प्रयास गरिरहेको सो विमानले धावनमार्ग पहिल्याउन नसक्दा दुर्घटनाग्रस्त भएको बताइएको छ।
दुर्घटनास्थलबाट १७ शव झिकिएको बताइएको छ। सो विमानमा सवार अधिकांश आधारभूत सैनिक तालिम पूरा गर्ने व्यक्तिहरू थिए।
स्थानीय समयानुसार साढे ११ बजे दुर्घटनामा परेको विमानमा दक्षिणी भूभागमा उग्रवादी अबु सैय्यफ समूहसँग लड्न सैन्य बल बढाउने योजना अन्तर्गतका सैनिकहरू रहेको बताइएको छ।
“धावनमार्ग छोड्यो, फेरि उड्न खोज्यो तर सकेन”, सशस्त्र प्रमुख किरिलिटो सोबेजानाले बताए।
फिलिपिन्सको राज्य सञ्चालित समाचार संस्थाले प्रकाशन गरेको तस्बिरमा बस्ती नजिकै रूखहरूबीच जलेको विमान देखिन्छ।