• vacancy ad
  • २० वर्षपछि बघराम हवाई मैदानबाट अमेरिकी सेना फिर्ता, अफगानिस्तानलाई हस्तान्तरण

  • Ad Space available
  • एजेन्सी। अमेरिकी सेनाले प्रयोग गरिरहेको बघराम हवाई मैदान झण्डै २० वर्षपछि अफगानिस्तान सरकारलाई हस्तान्तरण गरिएको छ।

    सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकाको ट्विन टावरमा अलकायदाले आक्रमणपछि अफगानिस्तानको तालिबान सरकार ढाल्न र आतंकवादी संगठन अल–कायदाको संरचना ध्वस्त बनाउन अमेरिकाले बघराम विमानस्थलको प्रयोग गरेको थियो।

    ad space

    दुई अमेरिकी सैनिक अधिकारीले उक्त विमानस्थल अफगानिस्तानको सेनालाई हस्तान्तरण गरिएको बताएका छन्।

    बघराम हवाई मैदान हस्तान्तरण गरेसँगै अफगानिस्तानबाट अमेरिकी सेना अब पूर्ण रुपले स्वदेश फर्कन्छ भन्ने आभास भएको छ। हवाई मैदान नै हस्तान्तरण गरेकाले अफगानिस्तानमा पछिल्लो समय तैनाथ २५०० देखि ३००० अमेरिकी सेनाले पनि अफगानिस्तान छाडेका छन्।

    राष्ट्रपति जो बाइडेनले आगामी सेप्टेम्बर ११ अघि नै अफगानिस्तानमा तैनाथ अमेरिकी सेना फिर्ता भइसक्ने बताए पनि त्योभन्दा अघि नै अमेरिकी सेना फिर्ता भएका छन्।

    साथै नेटो आबद्ध झण्डै सात हजार सैनिक पनि यही जुलाई ४ भित्रै स्वदेश फर्काउने गरी तयारी भइरहेको छ। अधिकांश नेटो सैनिकहरु यसै साता बिना कुनै घोषणाका साथ अफगानिस्तान छाड्दैछन्।

    एपीको विश्लेषणमा धेरैजसो युरोपेली मुलुकका सैनिकले साना समारोह गरी अफगानिस्तान छाडिसकेको देखिएको छ।

    अमेरिकाले सुरक्षाको कारण देखाउँदै अन्तिम अमेरिकी सैनिक कहिले फिर्ता भइसक्छन् भनेर केही बताएको छैन। काबुलस्थित हमिद कार्जाई अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षाका कारण पनि अमेरिकाले अन्तिम सैनिकको विदाईको घोषणा नगरेको हो। टर्की र अमेरिकी सेनाले यस विमानस्थलको सुरक्षा गरिरहेका छन्।

    अमेरिकाले राजधानी काबुलस्थित अमेरिकी राजदूतावासको सुरक्षाका लागि ६०० जना सैनिक राख्ने बताएको छ।

    एकपटक सन् २०१२ मा बघराम हवाई मैदानमा एक लाखभन्दा बढी सैनिकको उपस्थिति थियो। राजधानी काबुलबाट करिब एक घण्टाको मोटर यात्राबाट बघराम पुग्न सकिन्छ।

    यो दोस्रो पटक हो, अफगानिस्तानमा हस्तक्षेप गर्न एवं स्वदेश फिर्ता हुन बघरामको प्रयोग भएको छ।

    सन् १९५० को दशकमा तत्कालीन सोभियत युनियनले यो सैनिक विमानस्थल बनाएको थियो। सन् १९७९ मा अफगानिस्तानमा आक्रमण गर्दा रुसले यही विमानस्थलको प्रयोग गरेको थियो।

    सन् २००१ मा अमेरिकी र नेटो फौजले पनि यही विमानस्थललाई प्रयोगमा ल्याएका थिए। यो विशाल हवाई मैदानमा दुई वटा रनवे छन्। पछिल्लो पटक बनाइएको रनवे १२ हजार फिट लामो छ र यो सन् २००६ मा ९ करोड ६० लाख डलरमा बनाइएको हो।

    बघराम हवाई अखडा अमेरिकी र नेटो फौजले परित्याग गरेको बारेमा अफगान सरकारले पनि केही बताएको छैन।

  • ad space
  • सिफारिस
    लोकप्रिय