नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खसेपछि बिहीबार बिहानदेखि सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ पाँचकिलोमा माथिबाट पहिरो खसी सडक दुईतर्फी अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार पानी निरन्तर परिरहेको र पहिरोसमेत झरिरहेकाले पन्छाउन कठिन भएको छ । पहिरो आज राति २ः१० बजे खसेको हो । यस क्षेत्रमा निरन्तर पानी परिरहेको छ ।
त्यस्तै, मङ्गलबार साँझदेखि परेको अविरल वर्षापछि गएको पहिरोले ठाउँठाउँमा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । तनहुँको पूर्वी नाका आँबुखैरेनीदेखि पश्चिम नाका कोत्रेसम्मको करिब ७२ किलोमिटर दूरी पर्ने राजमार्गको ठाउँठाउँमा पहिरो जाँदा अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको जानकारी अनुसार शुक्लागण्डकी नगरपालिका–७ कुम्लेखोला नजिक पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको छ । त्यसैगरी व्यास नगरपालिका–१२ घाँसीकुवा र छिर्कनमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए ।