काठमाडौं। बढुवा समितिले नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) सहकुल बहादुर थापालाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरिएको छ ।
गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले थापालाई बढुवा गर्न सिफारिस गरेको हो । मन्त्रिपरिषदको बैठकले एक एआइजीको दरबन्दी थप गर्ने निर्णय गरेको थियो ।
सोमबार गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बैठकले थापालाई बढुवा गर्न सिफारिस गरेको हो। बढुवा सिफारिस भएका थापा प्रहरी महानिरीक्षकमा विश्वराज पोखरेलसँग प्रतिस्पर्धी रहनेछन्।
आईजीपी शैलेश थापा क्षेत्रीले १९ वैशाख, २०७९ मा अवकाश पाएपछि पोखरेल र थापामध्य एक जना आईजीपी बन्नेछन्।
एमालेका नेता तथा तत्कालीन उपप्रधानमन्त्री ईश्वर पोखरेलेको दबाबमा विश्वराज पोखरेलाई भावी महानिरीक्षकको एक्लो दाबेदार बनाउँदै ०७७ कात्तिकमा बढुवा गरिएको थियो । यद्यपि थापाको बढुवापछि एकल प्रतिस्पर्धाको अन्त्य भएको छ।