एजेन्सी। इराकको राजधानी बागदादमा मध्यपूर्वी देशहरु इराक, इजिप्ट र जोर्डनका नेताहरुबीच छलफल भएको छ ।
सो वार्तामा इराकका प्रधानमन्त्री मुस्ताफा अल कादिमी, इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसी र जोर्डनका राजा अब्दुल्लाह द्धितीय सहभागी थिए।
इराकका प्रधानमन्त्री मुस्ताफाको अग्रसरतामा यो वार्ता भएको अन्तार्राष्ट्रिय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन्। भेटवार्ताका क्रममा उनीरुले आपसी आर्थिक साझेदारी र विकासलाई अझ सुदृढ बनाउने र सुरक्षाको विषय तथा क्षेत्रीय स्थायित्वका बारेमा पनि कुराकानी भएको जनाइएको छ।
सो भेटवार्तापछि इराकी प्रधानमन्त्री मुस्ताफाको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ– यो हामीहरुले गरेको भेटघाटले खासमा हामी एक छौं र हामीले आवश्यकताअनुसार एक आपसमा सहयोगको आदान प्रदान गर्न सक्छौं भन्ने हो।
साथै सो विज्ञप्तिमा यी तीन देशका नेताहरुको उक्त भेटघाटले आफ्ना देशका जनतालाई आवश्यक परेको सहयोग गर्ने र त्यसका लागि हामीहरु तयार छौं भनेर पनि सन्देश दिन खोजेको जनाइएको छ।
त्यस विज्ञप्तिमा हालैका दिनहरुमा यी तीन ओटा देशले सामना गरिरहेका चुनौतीहरुको समाधानका लागि सामूहिक रुपमा पहल गरिने जानकारी पनि दिइएको छ। पछिल्ला दिनहरुमा यी देशमा पनि कोभिडले नराम्रोसँग असर गरिरहेको छ।
त्यसैगरी जारी कोभिड–१९को समस्यका कारण ती देशहरुको आर्थिक अवस्था निकै कठिन रुपमा गुज्रिरहेको र उनीहरुले आतंकवादका कारण सुरक्षाका क्षेत्रमा पनि चुनौती भोग्नुपरेको सो विज्ञप्तिमा जनाइएको छ।
सबै खालका समस्याहरुको समाधानका लागि एकताबद्ध भएर लाग्ने प्रतिबद्धता तीन नेताले गरेका छन्।