• vacancy ad
  • असार १६ मा एमाले महाधिवेशन आयोजक कमिटी बैठक

  • Ad Space available
  • काठमाडाैं। नेकपा (एमाले) को दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक असार १६ गते बोलाइएको छ।

    प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न आजको स्थायी कमिटी बैठकले मुलुकको पछिल्लो राजनीतिक अवस्था, सर्वाेच्च अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनको मुद्दा, दलको महाधिवेशन आयोजक कमिटीमाथि उठाइएका विवादलगायत विषयमा छलफल गर्न १६ गते बिहान ११ बजे बैठक बोलाइएको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए।

    ad space

    महाधिवेशन आयोजक कमिटी गठनप्रति माधवकुमार नेपाल समूहको भने सहमति छैन। अध्यक्ष केपी ओली पक्षको बैठकले २८ फागुनमा नवाैं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी भंग गर्दै महाधिवेशन आयोजक कमिटी गठन गर्ने निर्णय गरेको थियो।

    त्यसयता अध्यक्ष ओलीले पार्टीभित्र आफूनिकटलाई मात्रै जिम्मेवारी दिएर माधव नेपाल पक्षलाई जिम्मेवारीबिहीन बनाएका छन् भने वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालसहित ११ जनालाई पार्टीबाट निष्काशन गरेको छ।

    एमालेभित्र देखिएको विवाद समाधानको प्रयत्न भइरहेका बेला फेरि महाधिवेशन आयोजक कमिटीको बैठक बोलाइएको हो। सो बैठकमा नेपाल पक्षका नेताहरू सहभागी हुने/नहुने स्पष्ट भइसकेको छैन।

    अध्यक्ष केपी शर्मा ओली २०७५ जेठ २ गतेको साङ्गठनिक स्थितिका आधारमा दललाई अघि बढाउन तयार रहेको बताए पनि नेपाल पक्ष विश्वस्त हुन सकेको छैन। नेपाल पक्ष विपक्षी मोर्चामा आबद्ध छ।

    आजको बैठकमा कोरोना महामारी नियन्त्रण तथा बाढीपहिरो प्रभावित क्षेत्रमा सरकारले गरिरहेको राहत, उद्धार र रोकथामका पहलबारे समीक्षा भई त्यसलाई अझै प्रभावकारी बनाउन सुझाव दिइएको नेता ज्ञवालीले बताए।

  • ad space
  • सिफारिस
    लोकप्रिय