काठमाडौंको दक्षिणकालीमा सन्तोषी सुब्बाको हत्या आरोपमा पक्राउ परेका सुरेश तिमल्सिनालाई प्रहरीले बिहीबार सार्वजनिक गरेको छ । महानगरीय अपराध महाशाखाले बिहीबार पत्रकार सम्मेलन गरेर अभियुक्त तिमल्सिनालाई सार्वजनिक गरेको हो ।
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी १४ घर भई दक्षिणकाली नगरपालिका ७ बस्ने २९ वर्षीय सुरेशलाई असनबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार जबरजस्ती करणीको प्रयास गर्दा प्रतिकार गरेकाले तिमल्सिनाले सन्तोषीको घाँटी थिची हत्या गरेको अनुसन्धानका क्रममा खुलेको छ । मृतकको सलले घाँटीमा बेरी हत्या गरेको खुलेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । हत्यापश्चात् तिमल्सिनाले अनुहारमा पटक पटक ढुंगाले प्रहार गरी फरार भएको पाइएको पनि प्रहरी अनुसन्धानबाट खुलेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
पिकनिक स्थलमा रहेको सार्वजनिक शौचालयनजिक सन्तोषीको शव फेला परेको थियो । उनी विभिन्न पशुपन्छीको आवाज निकालेर युट्युबमा भाइरल थिइन् ।