काठमाडौं । कोरोना नियन्त्रणका लागि लगाइएको निषेधाज्ञा काठमाडौं उपत्यकामा एक साता लम्ब्याइएको छ । खुकुलो प्रावधानसहित निषेधाज्ञा थपिएको हो।
काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको आइतबार साँझ बसेको बैठकले असार ११ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।
थपिएको निषेधाज्ञामा निजी सवारी साधन जोर–विजोर प्रणालीमा चलाउन पाइनेछ भने बार अनुसार पसल खुला हुनेछन्। ट्याक्सी पनि जोर विजोर प्रणाली अनुसार चलाउन दिइनेछ । अन्य सार्वजनिक सवारीसाधन भने खुलाइएको छैन।
पसल बार अनुसार खोल्न दिइने भएको छ । जसअनुसार आइतबार, मंगलबार र बिहीबार सुनचाँदी, भाँडा, विद्युतीय, घरायसी सामान बिक्री गर्ने पसल सञ्चालन हुनेछन् ।
त्यस्तै, अटोमोबाइल्स र त्यसका पार्टपूर्जा पाइने पसल पनि खुल्नेछन् । सोमबार, बुधबार र शुक्रबार सपिङ मल, खेलकुद सामग्री पसल, कपडा, जुत्ता पसल, फेन्सी, कस्मेटिक, गिफ्ट र टेलरिङ खोल्न पाइनेछ।
बार अनुसार खुल्ने पसललाई बिहान ११ देखि ४ बजेसम्म समय तोकिएको छ । खाद्यान्न, फलफूल र तरकारी खुल्ने समय पनि यथावत छ ।