केही दिनदेखिको अविरल वर्षाका कारण महाकाली नदीमा बाढी आएको छ । बाढीका कारण आज महाकाली नदीमा पानीको बहाव २ लाख २३ हजार २०० क्युसेक पुगेको छ । महाकाली नदीमा यो यस वर्षकै उच्च बहाव हो । इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार शनिबारदेखि महाकाली नदीमा पानीको बहावमा उतारचढाव आइरहेको छ ।
‘मध्यरातमा पानीको बहाव २ लाख ६७ हजार क्युसेकसम्म पुगेको थियो,’ इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक जीवन गुरुङले भने, ‘यो यस वर्षकै उच्च बहाव हो ।’ महाकालीमा आएको बाढीका कारण भीमदत्त नगरपालिका- १२ ऐरीघाटका ६ सोनाह परिवार विस्थापित भएका छन् ।
‘विस्थापितलाई हामीले जनता प्राविमा आश्रय दिएर राखेका छौँ,’ गुरुङले भने, ‘स्थानीय खोला थुनिँदा छेउछाउका बस्ती जलमग्न भएका छन् ।’ स्थानीय प्रशासनले तटीय क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
महाकालीमा आइरहेको बाढीले नदीमा निर्माणाधीन चार लेनको पक्की पुलका संरचना भत्काउन थालेको छ । ३ अर्ब ६७ करोडको लागतमा निर्माणाधीन पुलको पहुँचमार्ग भत्काउनुका साथै बाढीले दोधारा चादँनीसित जोड्ने अस्थायी बाटोसमेत अवरुद्ध गराएको छ ।
त्यसैगरी पुलअन्तर्गत महाकालीमा निर्माण गरिएको टापु (आइल्यान्ड) समेत बगाएको पुल निर्माण कम्पनीले जनाएको छ । कुमार–सीएसईसी जेभीका इञ्जीनियर किशोरराज पाण्डेयले पुल संरचनामा बाढीले क्षति पुग्दा करोडौं रकम बराबरको नोक्सान भएको बताए । ‘गत जेठमा पनि बाढी आउँदा तीन करोडभन्दा बढीको क्षति भएको थियो,’ उनले भने, ‘त्यसबेला कालोपत्र गर्न स्थापना गरिएको प्लान्ट नै बगाएको थियो ।’