एजेन्सी। भारतको भारतको उत्तराखण्ड राज्यमा गत अप्रिलमा लागेको कुम्भमेलामा सहभागी एक लाखभन्दा बढीको कोरोना परीक्षण रिपोर्ट नक्कली भएको आरोप लागेपछि छानबिनको आदेश दिइएको छ ।
निजी प्रयोगशालाहरूले कोभिड परीक्षणमा नक्कली नाम, मोबाइल नम्बर र ठेगाना उल्लेख भएको पाइएको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् । राज्य सरकारले मेलामा सहभागी सबैको कोरोना परीक्षणको जिम्मा निजी प्रयोगशालाहरुलाई दिएको थियो ।
कोभिड महामारीको दोस्रो लहर सुरु भएको बेला सो मेला आयोजना गर्न दिएको भन्दै उत्तराखण्ड सरकारको चर्को आलोचना भएको थियो।
हरिदद्वार मेलामा सहभागी धेरैमा कोरोना देखिएको थियो । कुम्भ मेलामा सहभागी नेपालका पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमलमा समेत कोरोना देखिएको थियो ।
संक्रमितको संख्या बढेर अक्सिजन र अस्पतालका शय्या अभाव भएको बेला हजारौं मानिसहरू मास्क नलगाईकन कुम्भमेलामा सहभागी भएका थिए। त्यसबेला अधिकारीहरूले हरेकको कोभिड परीक्षण गर्ने भन्दै हरियाण र दिल्लीका प्रयोगशालालाई जिम्मा दिएका थिए ।
तर गत साता प्रकाशित विवरणहरूका अनुसार ती प्रयोगशालाले आफ्नो दैनिक कोटाअनुसार परीक्षण गरिएको देखाउन कोभिड परीक्षणको नक्कली प्रतिवेदन दिएको अधिकारीहरूले बताएका छन्। जसमा धेरैजसोको एउटै नाम, ठेगाना र फोन नम्बर पाइएको छ ।