सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीपछि सम्पर्कविहीन भएकामध्ये पाँच जना जीवितै भेटिएका छन् ।
गएराति भेटिएका उनीहरूलाई उपचारका लागि ललितपुर ल्याइएको छ । पाँच जनामध्ये दुईको स्वाथ्य अवस्था गम्भीर छ । उनीहरूको ललितपुरस्थित बीएण्डबी अस्पतालमा उपचार भइरहेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिए ।
उनका अनुसार प्रभावित क्षेत्रबाट अहिलेसम्म ८० जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये १७ जनाको स्वाथ्यमा समस्या देखिएपछि धुलिखेल अस्पतालमा परीक्षण गराइएको छ । बाँकीलाई उद्धारलगत्तै सम्बन्धित स्थानीय तहको जिम्मा लगाइएको छ ।
बेपत्ता भएका अन्य १५ जनाको खोजी कार्य जारी उनले बताए । अहिलेसम्म दुई जनाको शव भेटिएको र दुवै चिनियाँ नागरिक रहेका पोखरेलले जानकारी दिए । नेपाली सेना, नेपाल प्रहरी, शशस्त्र प्रहरी र दुई वटा हेलिकोप्टरको सहयोगमा अहिले पनि उद्धार कार्य चलिरहेको छ ।