• vacancy ad
  • एमाले कर्णालीका चार सांसद प्रदेश संसदीय दलमा फर्किए

  • Ad Space available
  • सुर्खेत । सर्वोच्च अदालतले पुनर्बहाली गरिदिएका कर्णाली प्रदेशसभाका चार जना प्रदेश सांसद पुनः संसदको कामकारबाहीमा फर्किएका छन्।

    सोमबार प्रदेशसभा बैठकमा सभामुख राजबहादुर शाहीले सर्वोच्च अदालतले पुनर्बहाली गरिदिएका चार जना सांसदको नेकपा एमाले प्रदेश संसदीय दलको सदस्यको हैसियतमा प्रदेशसभा सदस्य पदमा कायम रहेको घोषणा गरेपछि उनीहरु संसदीय कामकारबाहीमा फर्किएका हुन् ।

    ad space

    सभामुख शाहीले एमाले प्रदेशसभा संसदीय दलको पत्रको आधारमा पदमुक्त भएका प्रकाश ज्वाला, अमरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढाको पुनर्बहाली भएको जानकारी गराएका हुन् ।

    सभामुखले पत्र पढेसँगै एमाले संसदीय दलका नेता यामलाल कँडेलले पुनर्बहाली भएका चारैजना सांसदलाई प्रतिपक्षको सिटमा बस्न चेतावनी दिएका छन् । एमालेको सांसद लिएर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सरकार चलाउने कुरा मान्य नहुने कँडेलको भनाई थियो ।

    उनले अदालतको निर्णय अनुसार आफ्नो दल चल्ने बताए । सदन अवरुद्ध गर्ने आफ्नो चाहना नभएको भन्दै कँडेलले अर्को बैठकबाट पुनर्बहाली भएका सांसदहरु प्रतिपक्षको सिटमा नआए चुप लागेर नबस्ने चेतावनी समेत दिए ।

    गत वैशाख ३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिँदा फ्लोर क्रस गरेर माधवकुमार नेपाल समूहका चार एमाले सांसदले कर्णालीको सरकार जोगाएका थिए ।

    त्यसलगत्तै दलको ह्वीप उल्लंघन गरेको भन्दै एमालेको ओली समूहले पार्टीबाट निष्काशन गरेको थियो भने कर्णाली प्रदेश संसदीय दलले उनीहरुलाई कारबाही गरिएको पत्र संसद सचिवालयमा दर्ता गराएको थियो ।

    सोही आधारमा उनीहरुलाई पदमुक्त गरिएको थियो । तर त्यसविरुद्ध अदालत गएका उनीहरुलाई सर्वोच्चले कारबाहीको प्रक्रियामाथि प्रश्न उठाउँदै पुनर्बहाली गर्न आदेश दिएको थियो ।

    फ्लोर क्रस गरेकामध्ये कुर्मराज शाही भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री, नन्दसिंह बुढा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री र अम्मरबहादुर थापा भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री छन् ।

  • ad space
  • सिफारिस
    लोकप्रिय