भारतले कोभिसिल्ड खोप नदिएपछि सरकारले एस्ट्राजेनिकाको खोपका लागि बेलायतलाई पत्राचार गर्ने भएको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले कोभिड –१९ विरुद्धको ‘एस्ट्राजेनिका’ खोप उपलब्ध गराउन बेलायत सरकारलाई पत्र पठाउन लागेको बताएका छन् ।
भारतको सेरम इन्स्टिट्युट अफ इन्डियाले खोप नपठाएपछि कोभिसिल्डको पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकले दोस्रो डोज लगाउन पाएका छैनन् ।
उनले नेपालका ज्येष्ठ नागरिकले खोप अभावका कारणले दोस्रो मात्राको खोप लगाउन नपाएको कुरा उल्लेख गर्दै बेलायतलाई पत्र पठाइन लागिएको बताए ।
‘पहिलो मात्रा लगाएर यहाँका ६५ वर्ष माथिका ज्येष्ठ नागरिकले खोप अभावको कारणले दोस्रो मात्राको खोप लगाउन पाएका छैनन् भनेर पत्रमा उल्लेख गर्ने छौँ’ उनले भने, ‘ज्येष्ठ नागरिकको जीवनरक्षा गर्नका लागि समयमा नै दोस्रो मात्रा खोप लगाउन पर्ने भएकोले खोप उपलब्ध गराउन आग्रह गर्ने छौँ ।’
सरकारको आग्रहमा बेलायतले खोप चाँडै उपलब्ध गराउने उनको विश्वास छ ।
भारतीय कम्पनी सिरम र कोभ्याक्स सुविधा दुवैले तत्काल ‘कोभिसिल्ड’ खोप उपलब्ध गराउने सम्भावना देखिएको छैन । मन्त्रालयले ‘कोभिसिल्ड’को विकल्पमा उस्तै प्रकृतिको ‘एस्ट्राजेनिका’ खोप लगाउने निर्णय गरेको छ ।
खोपको पहिलो मात्रा लगाएका कम्तिमा १२ देखि १६ हप्ताभित्र दोस्रो मात्रा लगाउनुपर्ने हुन्छ । सरकारले कोभिसिल्ड र एस्ट्राजेनिका खोप एउटै कम्पनी र एउटै फर्मुलामा बनेकोले लगाउन केही फरक नपर्ने जनाएको छ ।
गत फागुन २३ देखि चैत १० गतेसम्म ६५ वर्षमाथिका उमेर समूहका करिब साढे १४ लाख व्यक्तिलाई ‘कोभिसिल्ड’ को पहिलो मात्रा लगाएको थियो । दोस्रो मात्राका लागि खोप नआएपछि अहिले त्यस्ता व्यक्तिले दोस्रो मात्रा लगाउन पाएका छैनन् ।
नेपालले सेरमसँग कोरोनाको २० लाख डोज खोप किन्न रकम बुझाए पनि १० लाख डोज मात्रै उपलब्ध गराएको थियो । भारतमा कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसँगै भारतले खोप निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालले १० लाख डोज खोप पाउन सकेको छैन ।
अहिले सरकारले चीनले अनुदानमा दिएको कोरोनाविरुद्धको भेरोसेल खोप लगाउँदै आएको छ । ६० देखि ६४ वर्षका ज्येष्ठ नागरिकलाई यो खोपको पहिलो मात्रा दिइरहेको मन्त्रालयले जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको आग्रहमा चीन सरकारले नेपाललाई १० लाख डोज खोप उपलब्ध गराएको थियो ।