एजेन्सी। भारतको उत्तर प्रदेशमा मजदुरहरु चढेको एउटा बसले सामान ढुवानी गर्ने भ्यानलाई कानपुर नजिकै ठक्कर दिँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ।
निकै भयानक सो दुर्घटनामा परी अन्य १८ जना घाइते भएको प्रहरीले जनाएको छ। कोरोना भाइरस महामारीको दोस्रो लहर भारतमा केही मत्थर हुन थालेपछि गाउँघर फर्किएका मजदुरहरु पुनः कामको खोजीमा निस्कन थालेका छन्।
विपरीत दिशाबाट आइरहेको भ्यानसँग ठोक्किएसँगै बस सडकमा पल्टिएको प्रहरी अधिकृत मोहित अग्रवालले बताए। बसमा सवार मजदुरहरु पश्चिमी गुजरात प्रान्तको अहमदाबादतर्फ जाँदै थिए।
भ्यानमा बिस्कुट बनाउने कारखानामा कार्यरत मजदुरहरु थिए। मृत्यु हुनेहरु अधिकांश भ्यानमा सवार मजदुरहरु रहेको अग्रवालले जानकारी दिए।
उक्त घटनामा परेका १६ जनाको घटनास्थलमै ज्यान गएको थियो भने एक जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो। प्रहरीका अनुसार घाइतेहरुको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको छ।