एजेन्सी। अस्ट्रेलियामा वैज्ञानिकहरूले सन् २००७ मा फेला परेको एउटा डाइनसोरलाई नयाँ प्रजातिका रूपमा वर्गीकरण गरेका छन्। उनीहरुले त्यो डाइनोसर महादेशमा फेला परेको अहिलेसम्मकै सबैभन्दा ठूलो डाइनसोर भएको बताएका छन्।
अस्ट्रेलोटाइटन कूपरेन्सिस वैज्ञानिक नाम दिइएको ‘द सदर्न टाइटन’ पनि भनिने सो डाइनोसर विश्वमा फेला परेका १५ ठूला डाइनसोरमध्ये एउटा हो।
उक्त डाइनसोर ६.५ मिटर अग्लो र ३० मिटरसम्म लामो भएको वैज्ञानिकहरुको भनाई छ । यसका हड्डीहरुसबैभन्दा पहिले दक्षिणपश्चिमी क्वीन्सल्यान्डका खेतमा भेटिएका थिए ।
गत दशकमा जीवाश्म वैज्ञानिकहरूले सो डाइसोर पहिचान गर्न अनुसन्धान गरेका थिए । त्यसका लागि उनीहरूले सोरपड र सो डाइनसोरका हड्डीको तुलना गरेका थिए ।
भीमकाय शरीरका लागि चिनिने सोरपड शाकाहारी डाइनसोर हो । ती डाइनसोरको टाउको सानो, घाँटी लामो, पुच्छर लामो अनि खुट्टा मोटा खम्बाजस्ता हुन्थे । करिब ९.२ देखि ९.६ करोड वर्षबीचको क्रिटेशस कालमा ती जीव महादेशभरी डुल्ने गर्थे ।
कूपरक्रिक भन्ने ठाउँमा भेटिएका कारण अध्ययनकर्ताहरूले उक्त डाइनसोरलाई ‘कूपर’ नाम दिएका हुन्। हड्डीहरू दुर्गम ठाउँमा हुनु, तिनको आकार ठूलो र अवस्था कमलो भएकाले प्रजाति पहिचान गर्ने प्रक्रिया निकै लामो भएको थियो।
तर अधिकांश जीवावशेष राम्रो स्वरूपमा भएको क्वीन्सल्याण्ड संग्रहालय र इरोमान्गा संग्रहालयका अनुसन्धानकर्ताहरूले बताएका छन् । बीबीसी