तत्कालीन राजा वीरेन्द्र शाहको वंशनाश भएको २० वर्ष पुगिसकेको छ । आजैको दिन अर्थात २०५८ जेठ १९ गते राती दरबारभित्रै राजारानीसहित राजपरिवारका सदस्य र आफन्तको हत्या भएको थियो । कडा सुरक्षा घेराभित्र रहेको दरबारमा भएको हत्याकाण्ड अहिले पनि रहस्यकै विषय बनेको छ ।
जेठ १९ को त्यो कहालीलाग्दो रातले अहिले पनि हरेक नेपालीलाई झस्काउने गरेको छ । पारिवारिक जमघटका बेला भएको घटनामा राजा वीरेन्द्र, रानी ऐश्वर्या, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुति, राजकुमार धीरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ति, राजकुमारी शारदा, कुमार खड्ग र अन्य राजपरिवारका सदस्यहरूको हत्या भएको थियो ।
राजतन्त्र हटेर मुलुकमा गणतन्त्र स्थापना भइसके पनि तत्कालीन राजपरिवारको वंशनाश भएको जेठ १९ को नमिठो छाप अहिले पनि नेपालीको मनबाट मेटिएको छैन ।
उदार राजाको छवि बनाएका वीरेन्द्रको वंशनाशपछि नेपालमा राजतन्त्र धेरै समय टिक्न सकेन। हत्याकाण्डको ७ वर्षपछि २०६५ जेठ १५ गते मुलुकबाट राजतन्त्र समाप्तिको घोषणा गरिएको थियो ।
राजा वीरेन्द्रपछि उनका माइला भाइ ज्ञानेन्द्र शाह राजगद्दीमा आसीन भए। उनी नै नेपालको इतिहासमा अन्तिम राजा बनेका छन् ।