एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी आर्थिक वर्षको ६० खर्ब अमेरिकी डलरको बजेट अमेरिकी समयअनुसार शुक्रबार प्रस्ताव गरेका छन् । बजेटमा गरिब र मध्यमवर्गका लागि नयाँ सुरक्षा कार्यक्रम ल्याइएको छ । बजेटमा सम्पन्न अमेरिकी कम्पनी तथा व्यवसायीले तिनुपर्ने करको दायरामा निकै वृद्धि गरिएको छ ।
कोभिड–१९ महामारीले आक्रान्त बनेको अमेरिकालाई आफ्नो नेतृत्वमा घोषणा गरेको राहत कार्यक्रमले महामारीलाई नियन्त्रण गर्न सहयोग पु¥याएको कारण बाइडेनले सत्ता सम्हालेको केही समयमै जनस्तरबाट बृहत् प्रशंसा पाएका थिए ।
बजेट ‘अमेरिकी नागरिकमा सिधै लगानी गरिने र देशको अर्थतन्त्रलाई सुदृढ पार्ने साथै दीर्घकालीन वित्तीय अवस्थालाई सुधार्ने’ दाबी डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपति बनेका बाइडेनले दाबी गरेका छन् ।
ट्रम्प प्रशासनले कोभिड–१९ नियन्त्रणमा देखाएको बेवास्ता र बाइडेनको जनमुखी कार्यक्रमले उनलाई प्रशंसा मिलेको छ । यो वर्षको अनुमानित घाटा ३.७ ट्रिलियन पुग्ने बजेटमा बताइएको छ भने अर्को वर्ष यो घाटा १.८ ट्रिलियनमा झर्ने उल्लेख गरिएको छ । यो महामारीभन्दा पहिलेको अवस्थाभन्दा झन्डै दोब्बर हो । कोभिड–१९ महामारी लक्षित राहतका लागि ५ खर्ब अमेरिकी डलर स्वीकृत गरिसकेको अवस्थामा बजेटले थप ३० खर्ब डलरभन्दा बढी राष्ट्रिय ऋण पुग्ने प्रक्षेपण गरेको छ । त्यसैले सरकारले आफ्नो खर्चको प्रतिडलरमा ५० सेन्ट उधारो लिनुपर्नेछ ।
बजेट घाटालाई रोक्न असफल भएपछि बाइडेनले व्यवसाय र उच्च कमाइ भएका व्यक्तिमा प्रस्तावित कर वृद्धि गर्ने योजना प्रयोग गरेका छन् जसले विश्वभरका पूर्व–प्राथमिक रबाल हेरचाहका लागि ठूलो अनुदान र स्वास्थ्य क्षेत्रलगायतका क्षेत्रमा दिइने ‘ग्यारेन्टेड’ भुक्तानी बिदाजस्ता नयाँ–नयाँ सामाजिक कार्यक्रमलाई मजबुत पार्न सहयोग दिने अपेक्षा गरिएको छ ।
बाइडेनले आफ्नो बजेटबारे भने, ‘हाम्रो अर्थतन्त्रको विकास गर्ने सबभन्दा राम्रो तरिका माथिबाट तल हो, तर तलबाट माथि हैन । हाम्रो समृद्धि ती मानिसबाट आउँछ जो दिनहुँ सबैरै उठ्छन्, कडा परिश्रम गर्छन्, आफ्नो परिवार बढाउँछन्, कर तिर्छन्, राष्ट्रको सेवा गर्छन्, र तिनीहरूको समुदायमा स्वयंसेवा गर्छन् ।’
बजेटमा ८ सय अर्ब डलरभन्दा बढी रकम जलवायु परिवर्तनविरूद्धको लडाइँ साथै स्वच्छ ऊर्जामा लगानी गर्नका लागि छुट्याइएको छ भने २ सय अर्ब तीन–चार वर्षका पूर्वप्राथमिक विद्यालयमा जाने उमेरका बालबालिकालाई निःशुल्क विद्यालयको व्यवस्था गर्न र १ सय ९ अर्ब डलर सम्पूर्ण अमेरिकीको दुइवर्षे निःशुल्क सामुदायिक कलेज खर्च र २ सय २५ अर्ब डलर परिवार भत्ता र चिकित्सकीय बिदामा खर्चिने बताइएको छ । बाइडेनले १ सय १५ अर्ब डलर सडक र पुल निर्माणका साथै १ सय ६० डलर सार्वजनिक यातायात र रेलसेवा सुधारका लागि छुट्याइएको छ भने १ खर्ब डलर ब्रोडब्यान्ड इन्टरनेट पहुँचमा सुधारका लागि खर्चिने बताइएको छ ।
बजेट कार्यान्वयनका लागि अमेरिकी संसद् कंग्रेसबाट पारित हुनुपर्छ । रिपब्लिकन पार्टीका सिनेटर लिड्से ग्राहमले योजनालाई अनावश्यक रूपमा महँगो भनेर आलोचना गरेका छन् ।