

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कोरोनाका कारण रोकिएको एसईई परीक्षा वैकल्पिक विधिबाट सञ्चालन गर्न शिक्षा मन्त्रालयसँग अनुमति माग गरेको छ ।
एसईई परीक्षा सञ्चालन सम्बन्धी सुझाव दिने समितिको प्रतिवेदनका आधारमा निर्णय गरेर सरकारसँग अनुमति माग गरिएको बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले बताएका छन् ।
संक्रमण दर बढ्दै गएपछि राष्ट्रिय परीक्षा बोर्डले शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बैकुण्ठ अर्यालको संयोजकत्वमा एसईई र कक्षा १२ को परीक्षा सञ्चालन सम्बन्धी सुझाव दिन समिति गठन गरेको थियो ।
समितिले कक्षा १२ को परीक्षा विधिबारे समेत प्रतिवेदन बुझाएपनि अहिले एसईई परीक्षाका लागि मात्रै अनुमति मागेको छ । जेठ १३ गतेबाट सञ्चालन हुने एसईईका लागि प्रश्नपत्र छपाइको काम यसअघि नै सकिएको थियो ।
एसईईमा ५ लाख १७ हजार विद्यार्थी र कक्षा १२ मा करिब ४ लाख विद्यार्थी परीक्षाको तयारीमा छन्।