

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्री हेरफेर भएको छ । एमालेको आन्तरिक विवादबीच नेकपा एमालेले सुदूरपश्चिम सरकारमा सहभागी मन्त्रीहरु हेरफेर गरेको हो ।
सरकारमा सहभागी एमालेका तीन जना मन्त्रीले राजीनामा दिएपछि चार जना नयाँ मन्त्री नियुक्त भएका छन् भने संसदीय दलका नेता प्रकाशबहादुर शाह मन्त्रीमा दोहोरिएका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली पक्षको स्थायी कमिटी बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिएपनि प्रदेशसभा संसदीय दलले समर्थन कायमै राख्ने निर्णय गरेको थियो ।
सोही विषयमा एमालेका विवाद चलिरहेका बेला मन्त्री फेरबदल भएको हो । आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाह, सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले शुक्रबार राजीनामा दिएका थिए ।
लगत्तै एमालेबाट चार र माओवादी केन्द्रबाट एक मन्त्री नियुक्त भएका छन् । मन्त्रीमा दोहोरिएका शाहले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
यसअघि उनले सम्हालेको आन्तरिक मामिलामा पूर्णा जोशी आएकी छन् भने दीर्घ सोडारीलाई भौतिक पूर्वाधार र लालबहादुर खड्कालाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । माओवादी केन्द्रबाट मानबहादुर धामी पर्यटनमन्त्री बनेका छन् ।