गुल्मी जिल्ला मालिका गाउँपालिका वडा नं ८ मर्भुङ मैदान, गुल्मीमा अवस्थित खड्ग आधारभूत विद्यालयले आफ्नो स्थापनाको ५०औं वर्षको उपलक्ष्यमा स्वर्ण महोत्सव मनाएको छ।
आज आयोजित कार्यक्रममा प्रमुख अतिथिको रुपमा जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण बहादुर खत्री हुनुहुन्थ्यो भने विशिष्ट अतिथि मालिका गाउँपालिकाका अध्यक्ष देविराम अर्याल, विशेष अतिथि मालिका गाउँपालिकाका उपाध्यक्ष उपेन्द्र अर्याल, जिल्ला शिक्षा समन्वय इकाई गुल्मीका प्रमुख थानेश्वर घिमिरे वडा नं ८ का वडा अध्यक्ष सूर्य बहादुर घर्ती क्षेत्री, मालिका गाउँपालिका भित्रका विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरू विभिन्न पार्टिका वडा कमिटि प्रतिनिधिहरू, मालिका गाउँपालिका शिक्षक तथा कर्मचारीहरु एवं विद्यालयका व्यवस्थापन समिति, शिक्षक अभिभावक संघका पदाधिकारी तथा पूर्व पदाधिकारी, पूर्व शिक्षक, विद्यार्थी, लगायत स्थानीय संघ संस्थाका प्रतिनिधिहरू एवं स्थानीयहरूको ठूलो उपस्थिति रहेको थियो।
कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिरा बहादुर केसीले गर्नु भएको थियो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भोजराज अर्यालले स्वागत मन्तव्य राख्नुभएको थियो भने स्थानीय शिक्षाविद् चूडामणि अर्याल, वडा अध्यक्ष सूर्व बहादुर घर्ती क्षेत्री, पालिका अध्यक्ष देविराम अर्याल एवं प्रमुख अतिथि द्रोण बहादुर खत्रीले शुभकामना मन्तव्य राख्दै गुल्मीको विकट भूगोलमा रहेको यस सामुदायिक विद्यालयले मुलुकको शैक्षिक क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको र आगामी दिनमा पनि शैक्षिक गुणस्तर अभिवृद्धिमा योगदान पुराउनेछ भन्ने शुभकामना व्यक्त गर्नुभयो। पालिका अध्यक्ष देविराम अर्यालले विद्यालयको भौतिक विकास तथा अन्य विकासमा पालिकाले उच्च प्राथमिकतासाथ सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो भने जिल्ला समन्वय समिति प्रमुख द्रोण बहादुर खत्रीले विद्यालयको श्रीवृद्धिमा प्रमुख भूमिका विद्यालयको शिक्षकहरूको हुने र व्यवस्थापन समिति तथा अभिभावकहरूले सक्रिय सहयोगी भूमिका निर्वाह गरेमा मात्र शैक्षिक गुणस्तर वृद्धि गर्न सकिने विषयमा जोड दिनुभयो, आजका साना विद्यार्थीहरू भोलीका देशका कर्णधार भएकोले उनीहरूको उज्ज्वल भविष्यको लागि सम्बद्ध सबैले उच्च योगदान गर्नुपर्ने विषयमा जोड दिनुभयो।
कार्यक्रममा विद्यालयको ईतिहास, शैक्षिक क्षेत्रमा पुर्याएको योगदान, विद्यालयको विभिन्न कालखण्डमा आर्थिक तथा अन्य सहयोग गर्ने सहयोगदाताहरूको विवरण एवं दिग्गज व्यक्तित्व एवं विद्यार्थिहरूको लेख रचना समेटिएको खड्ग स्मृति स्मारिका, २०८१ प्रमुख अतिथि लगायत अतिथि गणहरूले विमोचन गर्नुभएको थियो।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षहरू, पूर्व प्रधानाध्यापकहरू, पूर्व शिक्षकहरू, शिक्षक अभिभावक संघका पूर्व अध्यक्षहरू र अक्षयकोष दाताहरूलाई दोसल्ला तथा कदरपत्रले सम्मान गरियो। त्यस्तै खुला लोक भजन प्रतियोगिता आयोजना गरिएको थियो भने विद्यार्थी तथा विद्यालयका शिक्षक शिक्षिकाहरूले लोक नृत्य तथा गायनमार्फत कार्यक्रमलाई रंगिन बनाउनु भएको थियो। स्वर्ण महोत्सव ३ दिनसम्म चल्नेछ।
स्वर्ण महोत्सवका केहि झलकहरु :







