

पोखरा। गण्डकी प्रदेशसभाको अधिवेशन जेठ १६ गते आइतबार दिनको १ बजे आव्हान गर्न प्रदेश सरकारले प्रदेश प्रमुख सीताकुमारी पौडेल समक्ष सिफारिस गरेको छ।
गण्डकी प्रदेश सरकारको मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेशसभाको अधिवेशन आव्हान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता मन्त्री रामशरण बस्नेतले जानकारी दिए।
यसअघि वैशाख २ गते विपक्षी दलहरुले प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेर प्रदेशसभाको विशेष अधिवेशन माग गर्दै तत्कालीन प्रदेश प्रमुख अमिक शेरचनसमक्ष निवेदन बुझाएका थिए।
प्रदेश प्रमूख शेरचनले वैशाख १३ गते सोमबार दिउँसो २ बजेका लागि बैठक आह्वान गरेका थिए। त्यस दिन जनमोर्चाका एक प्रदेससभा सदस्य सम्पर्कमा नआएपछि बैठक स्थगित भएको थियो।
त्यसैगरी मन्त्रिपरिषद् बैठकको अर्को निर्णय भौतिक पूर्वाधार शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयको प्रदेश सडक सम्बन्धी विधेयकको निर्माणको सैद्धान्तिक स्वीकृत दिएको छ।