काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र डा. बाबुराम भट्टराईलाई विपक्षी बनाई सर्वोच्च अदालतमा दायर रिटको पेसी आज (शुक्रबार) का लागि तोकिएको छ । पूर्व बाल सैनिक लेलिन विष्टले दर्ता गरेको दुई थान निवेदन सुनवाइका लागि आज पेसी तोकिएको हो ।
न्यायाधीशहरू मनोजकुमार शर्मा र टेकप्रसाद ढुङ्गानाको इजलासमा पेसी तोकिएको छ । रिटमा माओवादीका नेता पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई विपक्षी बनाइएको छ । रिटमा युद्ध मा बाल सेना प्रयोग गरेको भन्दै कारबाही गर्न माग गरिएको छ ।
विष्टले सुरुमा २०८० जेठ २८ गते रिट दर्ता गरेका थिए भने उक्त रिटको फैसला नभएपछि पुन २०८१ भदौ २४ गते दोस्रो मुद्दा दायर गरेका थिए । संक्रमणकालीन न्यायसँग सम्बन्धित दुई कानुन संशोधनका क्रममा बाल सेनाको सरोकार उपेक्षा गरिएको दाबी रिटमा गरिएको छ । दुवै रिट यसअघि दुई पटक हेर्न नभ्याइने हुँदै सुनुवाइ सर्दै आएको थियो । भदौ ३० र असोज ७ गते पेसी तोकिए पनि सुनुवाइ हुन सकेको थिएन ।