नारायणगढ। नारायणगढ मुग्लिङ सडकको सत्रकिलोमा भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । चितवन मेडिकल कलेजमा उपचार गराइरहेका थप एक घाइतेको शुक्रवार बिहान मृत्यु भएपछि सो दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको हो ।
चितवन मेडिकल कलेजमा उपचार गराइरहेका विद्युतीय गाडीका चालक चितवन खैरहनी नगरपालिका वडा नम्बर ४ का ४० वर्षीय अनोज अधिकारीको उपचारकै क्रममा मृत्यु भएको चितवनका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो । घाइते भए लगत्तै चितवन मेडिकल कलेजमा ल्याएर उहाँकाे उपचार गरिएको थियो ।
भरतपुर महानगरपालिका वडा नम्बर २९ सत्रकिलोमा शुक्रवार बिहान ३ बजे मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको बा.प्र. ०६–००१ज ०२९८ नम्बरको विद्युतीय गाडी र नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको बा.प्र. ०३–००१ ख २८१२ नम्बरको को बस एक आपसमा ठक्कर खाँदा सो दुर्घटना भएको हो । दुर्घटनामा परी मृत्यु हुनेमध्ये तीन जनाको अझै सनाखत हुन सकेको छैन । मृतक एक जना गोरखा आरुघाटका ४० वर्षीय राजबहादुर गुरुङ रहेको प्रहरीले जनाएको छ ।
विद्युतीय सवारी साधनमा सवार गर्ने नाम वतन नखुलेका एक जना घाइतेको अहिले पनि चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उहाँकाे अवस्था पनि गम्भीर भएको प्रहरीले जनाएको छ । विद्युतीय गाडीमा रहेका ६ यात्रुमध्ये उनी मात्रै अब एक बाँकी हुन् ।
दुर्घटनामा परेका बसमा रहेका यात्रुहरू भने उपचारपछि फर्किएका छन् । उहाँकाे अवस्था सामान्य रहेकाले डिस्चार्ज गरिएको बताइन्छ । दुर्घटना के कारणले भयो अझै यकिन कारण खुल्न सकेको छैन । प्रहरी उपरीक्षक मिश्र भने माइक्रोका चालक निदाएको हुनसक्ने अनुमान गर्नुहुन्छ । “छ जना यात्रु बोकेर आएको विद्युतीय गाडी गलत बाटाेमा भएको देखिन्छ । चालकसहित पाँच जना मर्ने यही साधनका हुन्”, उहाँले भन्नुभयो, “हाम्रो प्रारम्भिक अध्ययनले चालक निदाएका हुन् कि भन्ने देखाएको छ । अन्य कुरा अध्ययनबाट खुल्ला ।”
उहाँले विद्युतीय गाडीका यात्रुहरू प्रमाणका रूपमा नभएपछि यसको यकिन कुरा बाहिर आउन पनि गाह्राे हुने बताउनुभयो ।