काठमाडाैं। उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि गठन गठित उच्चस्तरीय समिति कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) खारेज नगरिएको बताएका छन्।
सिंहदबारस्थित आफ्नै कार्यकक्षमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले सीसीएमसी खारेज नभई थप सशक्त बनाइएको दाबी गरे।
“सीसीएमसी खारेज भएको होइन । कोभिड–१९ रोकथाम र नियन्त्रण गर्ने मुख्य जिम्मेवारी सीसीएमसीको नै हो”, उनले भने, “सीसीएमसीलाई थप व्यवस्थित मात्र बनाइएको हो । सीसीएमसी छँदैछ।”
उनले केही सञ्चारमाध्यमले सीसीएमसी खारेज गरेको हल्ला फिजाएको भन्दै त्यस्तो नभएको स्पष्ट पारे। उपप्रधानमन्त्री पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा गठन गरिएको निर्देशक समितिले देशभरी कोभिड–१९ व्यवस्थापन कार्यलाई निर्देशन दिने जानकारी दिए।
सरकारले कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश–२०७८ बाट यही जेठ ६ गते कोभिङ–१९ को रोकथाम, नियन्त्रण, निदान र उपचारको व्यवस्थापनसम्बन्धी कार्यलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको अध्यक्षतामा १० सदस्यीय निर्देशक समिति समेत गठन गरेको थियो ।