

विजयचोक युवा क्लब, मिरमिरे युवा समाज, सिनामङ्गल युथ एलायन्स, पञ्चकुमारी समाज, कृति फाउण्डेशन तथा नव न्यानो फाउण्डेशनमा रहेका
युवाको सक्रियतामा १५ शय्याको आइसोलेशन सञ्चालनमा ल्याइएको छ ।
काठमाडौं महानगरपालिका–९ मा १५ शय्याको आइसोलेशन केन्द्र सञ्चालनमा आएको छ । नयाँ भेरियन्टसहितको कोभिड–१९ को दोस्रो लहरको प्रभाव बढेसँगै महानगरपालिकाको प्राविधिक सहयोगमा मातृका आँखा केन्द्रको व्यवस्थापनमा शारदा माध्यमिक विद्यालयमा १५ शय्याको आइसोलेशन केन्द्र सोमबारदेखि सञ्चालनमा आएको हो ।
हाल १५ शय्याबाट शुरु भए पनि चाप बढेसँगै यसको क्षमता विस्तार गरी ६० शय्यासम्म बनाउने तयारी गरिएको केन्द्रका अध्यक्ष सुरज श्रेष्ठले जानकारी दिए।
२४ घण्टा चिकित्सक र नर्स सेवासहित निःशुल्क औषधि तथा खाना व्यवस्थापन, दैनिक योग अभ्यास र घरमै आइसोलेशनमा बस्नुभएका बिरामीका लागिसमेत टेलिफोनबाट परामर्श सेवा उपलब्ध गराउने व्यवस्था गरिएको केन्द्रले जनाएको छ ।
अक्सिजन, भेन्टिलेटर र आइसियू सेवा आवश्यक पर्ने बिरामीबाहेकका अन्य कोरोना पोजिटिभ देखिएका बिरामीलाई केन्द्रबाट निःशुल्क सेवा उपलब्ध गराइने छ । परिवारका अन्य सदस्यसँग निरन्तर सम्पर्क रहनसक्ने व्यवस्था मिलाइएको आइसोलेशन केन्द्रका संयोजक सन्तोष नेपालले बताए ।
सिफारिस