• vacancy ad
  • देशैभर गए रातिदेखि नै ठूलो वर्षा, भोलिसम्मै पानी पर्ने

  • Ad Space available
  • काठमाडौं । देशका विभिन्न स्थानमा गए रातिदेखि वर्षा भइरहेको छ । केही स्थानमा भारी वर्षा समेत भइरहेको छ । देशभर साधारणतया बदली रहँदा कोशी, मधेस, वागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको छ ।

    झापा, मोरङ, सुनसरी, सप्तरी र मोरङका केही स्थानमा भारी वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज (मंगलबार) दिउँसो देशभर साधारणतया बदली रहने छ । सात वटै प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले जनाएका छन् । 

    ad space

    कोशी, मधेस, वागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी, वागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ । विभागले राति देशभर साधारणतया बदली रहने जनाएको छ । सबै प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

    सात वटै प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै अति भारी वर्षाको सम्भावना छ । वागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहको छ । २४ घण्टामा २०० मिलिमिटरभन्दा माथि वर्षा भयो भने त्यसलाई अति भारी वर्षा भनिन्छ । १० मिलिमिटरसम्मको वर्षालाई सामान्य वर्षा, १० देखि ५० मिलिमिटरसम्मको वर्षालाई मध्यम वर्षा भनिन्छ । 

    ५० देखि १०० मिलिमिटरसम्मको वर्षालाई भारी वर्षा, १०० देखि २०० मिलिमिटरसम्मको वर्षालाई धेरै भारी वर्षा र त्यसमाथिको वर्षालाई अति भारी वर्षा भन्ने गरिएको विभागले जनाएको छ । यसैबीच, देशका विभिन्न ठाउँमा भारी वर्षा भइरहेको छ । मकवानपुर, झापा, सप्तरी, मोरङ, सुनसरीका विभिन्न ठाउँमा भारी वर्षा भइरहेको छ । मकवानपुरको बकैया नदी जुरेलीबजार जलमापन केन्द्रको जलसतह सतर्कता तह आसपास पुगेको छ । जलसतह बढ्दो क्रममा रहेको छ ।

    बकैया नदीको बारासम्मकै नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भू–भागमा रहनेहरूले बिहान १० बजेसम्म उच्च सतर्कता अपनाउनु पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । सप्तरी जिल्लाको खाडो नदी, पूर्व–पश्चिम राजमार्ग जलमापन केन्द्रको जलसतह सतर्कता तह आसपास पुगेको छ ।

    वर्षा भएरहेको र जलसतह बढ्दो क्रममा रहेकाले तल्लो नदी तटीय क्षेत्र तथा डुबान भइरहने होचा स्थानमा रहनेहरूलाई बिहान १० बजेसम्म उच्च सावधानी अपनाउन विभागको आग्रह छ ।  झापाको सिस्ने, मोरङको हरैँचा र केराबारी, सुनसरीको धरान, सप्तरीको रुपनी बजार वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा भारी वर्षा मापन भएको छ । 
    थप वर्षा हुनसक्ने सम्भावना रहेकाले उक्त क्षेत्र भएर बग्ने बिरिङ, चिस्याङ, लोहन्द्रा, केसलिया नदी र अन्य स–साना खोलामा आकास्मिक बहावको जोखिम छ । त्यसैले नदी तटीय क्षेत्रमा रहनेले बिहान १० बजेसम्म उच्च सतर्कता अपनाउनु पर्ने विभागले जनाएको छ ।  अति भारी वर्षाको पनि सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न विभागले पूर्वसावधानी अपनाउन भनेको छ । 

    दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेको विभागको भनाइ छ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको उत्तरतर्फ अवस्थित छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको उत्तरतर्फ रहँदा मनसुनी प्रणाली थप सक्रिय हुन्छ, र धेरै वर्षा हुन्छ । यो रेखा दक्षिणतर्फ रहँदा कम वर्षा हुन्छ ।

  • ad space
  • सिफारिस
    लोकप्रिय