
जीवनमा सल्लाह दिने हजार थिए तर साथ दिने मात्र तिमी

आयुस्मा खरेल | जीवन जिउदै गर्दा कसैको साथ यति महत्त्वपूर्ण छ मैले कदापि सोचेकि थिइन। लाग्थ्यो जीवन एक सरल यात्रा हो र यस यात्रा तय गर्दै गर्दा मलाई साथ दिइ अगाडि बढ्न मद्दत गर्ने हजारौँ हुनेछन् तर मलाई यो कुरा अवगत नै भएनछ कि म मानवता हराएको स्वार्थी सहरमा छु र यहाँका मानिस केवल आफ्नो भलो चाहन्छन्। मलाई लाग्थ्यो मेरा आफन्त सधै मेरो साथ र मेरो सफलताको पर्खाइमा छन्। उनीहरू मेरो यो प्रगतिशिल जीवनमा हौसला र पुनर्बलका इटाहरू थपिदिएर मलाई सफलताको उचाईमा पुगाउँछन्, तर म त केवल भ्रममा रहेछु। मेरा आफ्ना भनौदाहरू मेरा रहेनछन्। उनीहरू त केवल म चढ्ने सफलताको सिढी खसाउन तम्तयार भइ मेरो असफलतामा तालि बजाउन मेरो वरिपरी आएका रहेछन्। मैले आफ्ना सोचेकाहरू मेरो जीवनको कमजोर हिस्सामा अडिएका मेरा सपनालाई छरपस्ट पारिदिन मेरो वरिपरी सल्बलाइ रहेका रहेछन्।
जीवनमा अगाडि बढ्न साथ दिनुको सट्टा मेरो पक्षमा उभिदिने पराई व्यक्तिलाई समेत भड्काउन खोज्ने मेरा आफन्त थिए। कोहि अन्जान व्यक्तिले मलाई साथ दिई मेरो पक्षमा वकालत गर्दा मेरो बारेमा तथानाम आरोप लगाई मलाई गलत साबित गर्न खोज्नेलाइ पनि के आफन्त भनू आफ्नो त्यो रहेछ जसले मेरो नराम्रो समयमा साथ दिइ अगाडि बढ्न हौसला प्रदान गर्छ,! मेरा आफ्ना भनौदाहरूले बोलेका बचनलाई गलत साबित गर्ने उद्देश्यले जसले मलाई साथ दियो उहि व्यक्ति खास छ मेरो जीवनमा, एउटा अपरिचित व्यक्ति जसले मलाई जीवनको बारेमा ज्ञान दिदैँ मेरो उन्नति र प्रगतिको कामना गर्यो उनका लागि यि शब्द कोर्दैछु। हुन त मेरा यि शब्दले उनले मलाई गरेको गुन तिर्न सकिदैन तर जे जति शब्द कोर्दैछु यो मनबाट कोरेकि छु।
काँडाजस्तो जीवनमा अगाडि बढ्दै गर्दा एकदिन अवश्य फुलको बाटो भेटिन्छ बस तिमी धैर्य गर भन्दै हौसला दिने मात्र तिमी थियौ। जीवनमा आएका हरेक अफ्ट्यारा खुड्किलामा म थाकेर पछाडि फर्किन्थे जहाँ तिमी मुस्कुराउदै भन्थ्यौ सपना साकार गर्न कँहा सजिलो छ र ॥ मेरा पैतालाहरू गलेर अडिन नसक्दा आफ्नो हात मेरो पाउमा राखिदिई मलाई हिड्न सहज बनाउने मात्र तिमी हौ। जीवनमा आईपरेका हरेक समस्यालाई साधन बनाई आफ्नो सपनालाई लक्ष्य केन्द्रीत् गरि अगाडि बढ अवश्य सफल हुन्छौ भनि प्रोत्साहन गर्ने मात्र तिमी हौ ।
मैले कतै समाजले औँला उठाउने हो कि भनेर प्रश्न गर्दै गर्दा तिमी आफ्नो भविष्यका लागि र तिम्रो खुसीका लागि लडेर र डटेर लाग्नुपर्छ, तिमी यो समाजको उदाहरणीय नारी भएर देखाउनुपर्छ भनेर मेरो गलेको शरीर र थाकेको मष्तिष्कलाई अगाडि बढ्न घचघचाऊने मात्र तिमी हौ। आफ्ना हरूले नै साथ छोडिदिँदा हार मानेर बसेकि मलाई जीवन जिउने तरिका सिकाउदै , परिस्थितिलाई अंगाल्न सिकाउन मात्र तिमी हौ । तिमी आफ्नो सपना हेरी आफ्नो लागि बाँच भनेर जीवनको महत्व मात्र तिमी हौ । आफ्नो स्वार्थ पुरा गर्नका लागि कसैसँग साथिको नाता गाँसेर अरूको शरीर र भावनासँग खेल्ने यो समाजमा तिमीले यो दर्साएउ कि कोहि व्यक्ति त्यस्तो पनि हुन्छ जो अरूको सफलतामा रमाउन चाहन्छ। अरूको सफलताका लागि आफ्नो अमूल्य समय अर्पण गर्न सक्छ।
शरीरलाई प्रयोग गरि नारीलाई खेलाउना सोच्ने समाजमा तिमी त्यो व्यक्ति ठहरियौ जसले एउटा नारी पनि यो समाजमा सफल भइ परम्परागत सोचको पिँजडाबाट निस्किएर बाहिरि खुला संसारमा रमाएर उड्न सक्छिन्। तिमी त्यो हौ जसले एउटा नारीलाई आफ्ना लागि बाँच्न र हाँस्न सिकाएका छौ। त्यसैले म गर्भका साथ भन्ने गर्छु तिमी हजारौ काँडाबीचमा फूलेको सुन्दर फूल हौ। जसले एउटि नारीको शिर सजाउन मद्दत गरेछौ।