काठमाडौं । तपश्वी भनेर आफूलाई प्रचार गराउँदै आएका रामबहादुर बम्जनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) को टोलीले सर्लाही प्रहरी र अदालतमा उपस्थित गराउने तयारी गरेको छ ।
तपश्वीको भेषमा अनुयायीको हत्या गरेको, बेपत्ता बनाएको र बलात्कार गरेको आरोपमा मंगलबार पक्राउ परेका बम्जनलाई सर्लाही प्रहरीमा हाजिर गराएर अदालतमा उपस्थित गराउने तयारी रहेको सीआइबी स्रोतले जानकारी दिएको छ । प्रहरीले केहीसमय अघिदेखि उनी काठमाडौंमा बस्दै आएको भन्ने सूचनाका आधारमा निगरानी बढाएको थियो ।
बम्जनका विभिन्न आश्रमबाट बेपत्ता पारिएका र हत्या गरिएका पाँचै जना आनी र अनुयायीका परिवारले प्रहरीमा जाहेरी दिएका थिए । उनी विरूद्ध आश्रममा बस्दै आएका तीन आनी र दुई चेला गरी चार जनालाई बेपत्ता पारेको, एक जनाको हत्या गरेको, एकजनालाई बलात्कार गरेको जाहेरी प्रहरीमा परेका छन् ।
बम्जनका आश्रमबाट आनीहरू सर्लाहीकी रिता बोट, नुवोकोटकी कर्मा तामाङ र मकवानपुरकी फूलमाया रूम्बा बेपत्ता पारिएका छन् । बम्जनका दुई अनुयायी बाराका सुरेश आलेमगर र मकवानपुरका सञ्चमान वाइबा पनि उनको सिन्धुलीस्थित आश्रमबाट बेपत्ता छन् । बम्जनको आदेशमा वाइबालाई उनको सिन्धुपाल्चोकस्थित आश्रममा कुट्दा कुट्दै मारिएको प्रत्यक्षदर्शीले बताएका छन् । आलेमगरलाई रक्ताम्मे अवस्थामा आश्रममा देखेको पनि प्रत्यक्षदर्शीको भनाइ छ । आफूलाई हुँदै बम्जनले बलात्कार गरेको भन्दै गंगामायाले दिएको उजुरी पछि प्रहरीले सर्लाही जिल्ला अदालतमा मुद्दा लगेको छ । उक्त मुद्दा मा उनलाई पक्राउ गर्न अदालतले पुर्जी जारी गरेको थियो ।
स्रोतका अनुसार हिजो बूढानीलकण्ठको हात्तीगौंडाबाट पक्राउ परेका उनीविरुद्ध जिल्ला अदालत, सर्लाहीबाट पक्राउ पूर्जी जारी भएकाले पहिले त्यहाँ हाजिर गराउन लागिएको हो । बम्जनले बलात्कार गरेको तथा केहीलाई बेपत्ता पारेको आरोपमा सीआइबीले उनलाई लामो समयदेखि खोजी गरिरहेको थियो । प्रहरीले उनको घरमा छापा मारेर तीन करोड ३० लाख नेपाली रुपैंयाँ बरामद गरेको छ । उनको घरमा छापा मार्दा १६ देशका पैसा भेटिएका छन् । नेपाली रुपैयाँ गनिसकिएको भए पनि विदेशी रुपैंयाँ भने गन्न बाँकी रहेको प्रहरीले जनाएको छ ।


