• vacancy ad
  • रास्वपा सांसद विराजभक्तले रविलाई सभापति ‘छाड्न’ भनेका हुन् ?

  • Ad Space available
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) का सभापति तथा सांसद रवि लामिछाने गोरखा मिडिया नेटवर्कमा सहकारीका बचतकर्ताको पैसा अपचलन गरेको विवादमा तानिएका छन् ।

    उनले आफूमाथि लगाइएको आरोपको प्रतिवाद गर्दै आज (बिहीबार) पनि स्पष्टीकरण दिएका छन् । ‘शुभचिन्तकहरूलाई भ्रम नपरोस् भनेर’ लेखेको भन्दै लामिछानेले लेखेका छन्, ‘सार्वजनिक सुनुवाइमार्फत् जनताको कठघरामा उभिँदै छु ।’ सभापति लामिछाने विवादमा तानिएकै बेला सोही दलका संसदीय दलका उपनेता समेत रहेका विराजभक्त श्रेष्ठले सामाजिक सञ्जालमा लेखेको विषयले अहिले अर्को तरङ्ग सिर्जना गरेको छ ।

    ‘यदि तपाईं कसैको लागि, समाजको लागि अथवा देशको लागि सम्पत्ति बन्न सक्नु हुन्न भने घाँडो पनि नबनी दिनु होला’, उपनेता श्रेष्ठले लेखेका छन्, ‘यदि पछाडि हटेर कल्याण हुन्छ, क्षति कम हुन्छ भने पछाडि हटेर सहयोग गरिदिनु होला ।’ श्रेष्ठले लेखेको यो विषयमा विभिन्न तरिकाले टिकाटिप्पणी हुन थालेका छन् । धेरैको अनुमान चाहिँ उनले सभापति लामिछानेलाई नै यो सन्देश दिएको भन्ने छ । श्रेष्ठको सन्देश के सभापति लामिछानेलाई नै पछि हट्न गरिएको आग्रह हो त ? भन्ने प्रश्नमा श्रेष्ठले आफूले सभापति लामिछानेलाई लक्षित गरेर त्यस्तो नलेखेको स्पष्ट पारे ।

    bi 1

    तर, आफूले भनेको कुरा सबैको हकमा लागु हुनुपर्ने उनको भनाई थियो । ‘म मेरो निर्वाचन क्षेत्रभित्रका काममा व्यस्त थिएँ । यहीँका विकास निर्माणका काममा देखिएका विकृतिलाई हेरेर मैले यो लेखेको थिएँ । तर, यसको व्यापक चर्चा भइसकेको रहेछ’, श्रेष्ठले सुनाए, ‘मैले व्यक्ति विशेषलाई भन्दा पनि प्रवृत्तिलाई लक्षित गरेर यो लेखेको हुँ, जुन सबैको हकमा लागु हुनुपर्छ ।’
    उनले सहकारी समस्या एउटा, दुईटा नभएर देशव्यापी देखिएको भन्दै यसलाई राष्ट्रिय अभियानकै रुपमा समाधान जरुरी भएको बताए । समस्या समाधानका क्रममा को पर्छ र कसलाई जोगाउने जस्ता कुरामा लागे त्यसले वित्तीय अराजकता ल्याउने उनको भनाई थियो ।

    ‘सहकारी ठगीका विषय एक पछि अर्को गर्दै आइरहेका छन् । यसमा कुन व्यक्तिलाई फोकस गर्ने भन्दा पनि यो सम्पूर्ण ठगीको प्रक्रियामा संलग्नलाई कानुनी दायरामा ल्याउनुपर्छ’, श्रेष्ठले भने, ‘उनीहरुलाई कानुनी दायरामा ल्याएर मात्र पुग्दैन ठगिएका पीडितहरुलाई पनि क्षतिपूर्ति र न्याय दिनसक्नु पर्छ ।’

    सभापति लामिछाने यसअघि नागरिकता र पासपोर्ट विवादमा परेका थिए । सर्वोच्च अदालतले सांसद पद खारेज गरिदिएपछि उनले गृहमन्त्री तथा उपप्रधानमन्त्रीको पद पनि गुमाउनु परेको थियो । उनले फेरि नेपाली नागरिकता कायम गराए । रिक्त रहेको चितवन क्षेत्र नं २ मा भएको उपनिर्वाचनमा उनी फेरि निर्वाचित भएर प्रतिनिधिसभा बन्न सफल भए ।

    कतिपयले उनी एकपछि अर्को गम्भीर प्रकृतिका विवादमा जोडिने गरेको भन्दै उक्त दलका तुलनात्मक रूपमा विवादमुक्त र विषयविज्ञ नेताहरूका निम्ति लामिछाने अस्वीकार्य बन्ने आंकलन गर्ने गरेको पाइन्छ । त्यही पृष्ठभूमि वा त्यस्तो अपेक्षा राख्नेहरूलाई सांसद श्रेष्ठको पोस्टले थप बल दिएको आंकलन गरिएको छ ।

    ‘मेरो विगत हेर्नुभयो भने थाहा हुन्छ, म स्पष्टै भन्न सक्ने मान्छे हुँ । घुमाउरो पाराले कुरा गर्ने मान्छे होइन’, श्रेष्ठले भने, ‘मैले त नेपालमा आफूले पनि काम नगर्ने अरूलाई पनि गर्न नदिएर भाँजो हाल्ने प्रवृत्तिलाई लक्षित गरेर नैतिक प्रश्न उठाएको हुँ ।’ उनले बाहिर चर्चा गरिए जस्तो आफ्नो पोस्टले पार्टीमा कुनै आशंका र अविश्वास उत्पन्न नगरेको दावी पनि गरे । सभापति लामिछानेसँग बुधवार पनि कुरा भएको र अन्य नेता–कार्यकर्ताहरू लामिछाने मुछिएको प्रकरणका साथै आफ्नो पोस्टबारे स्पष्ट रहेको उनले बताए ।

    सिफारिस
    लोकप्रिय