काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कार्यक्षमता प्रमाणित गर्न नसके कसैले पनि ठाउँ ओगटिरहनु नहुने बताएका छन् । मंगलबार सिंहदरबारबाट देशाबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘कार्यक्षमता प्रमाणित गर्न सकेनौँ भने कसैले पनि अब ठाउँ ओगटिरहनु हुँदैन, छाडिदिनु पर्छ ।’
देशमा सकारात्मक परिवर्तन र आशा जगाउन नसके आफूले पनि पद ओगटिरहन जरूरी नरहेको बताए । उनले मन्त्रीहरूलाई असफल हुने छुट नभएको बताए। कार्यसम्पादन कमजोर भएको अवस्थामा कसैलाई पनि माफ गर्न सक्ने अवस्था र मनस्थितिमा आफू नभएको उनको भनाइ थियो।
‘म आज जनतालाई साक्षी राखेर मन्त्रीहरूलाई पनि भन्न चाहन्छु, हामीलाई असफल हुने छुट छैन । कार्यसम्पादन कमजोर भएको अवस्थामा म कसैलाई माफ गर्न सक्ने अवस्था र मनस्थितिमा छैन,’ उनले भने । उनले सरकारका लागि तानातानी नभएको भन्दै गठबन्धन दलहरूलाई धन्यवाद दिएका थिए।
‘म मलाई विश्वासको मत दिने र निरन्तर साथ दिने सबै माननीयहरू, सिंगो संसद र राजनीतिक दलहरूप्रति आभार प्रकट गर्दछु । गठबन्धन सरकार भन्नेबित्तिकै ठूलो तानातानी, अस्थिरता र अराजकताको चित्र आउँछ तर म गठबन्धनका सबै घटक र नेतृत्वप्रति आभारी छु किनकि अहिले न स्थायित्वमा कुनै प्रश्न छ, न सरकारमा कुनै तानातानी,’ उनले भने ।


