एजेन्सी। विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले अफिसमा ढिलासम्म काम गरेका कारण हरेक वर्ष लाखौंले ज्यान गुमाउने गरेको जनाएको छ । पहिलो पटक गरिएको विश्वस्तरीय अध्ययन अनुसार सन् २०१६ मा लामो समयसम्म अफिसमा काम गरेका कारण मष्तिस्कघात र मुटुको बिरामीका कारण ७ लाख ४५ हजारको मृत्यु भएको थियो।
रिपोर्टअनुसार दक्षिण–पूर्वी एसिया र पश्चिम प्रशान्त क्षेत्रमा यसरी सबैभन्दा बढी मानिसले जीवन गुमाउने गरेका छन्। अनुसन्धानअनुसार ३५–४० घन्टा काम गर्नेको तुलनामा हप्तामा ५५ घन्टा काम गर्नेमा मष्तिस्कघातको खतरा ३५ प्रतिशत बढी हुन्छ र मुटुरोगबाट मृत्यु हुने खतरा १७ प्रतिशत बढी हुन्छ।
विश्व स्वास्थ्य संगठनले कोरोना महामारीका कारण झनै धेरै खराब अवस्था आउनसक्ने चेतावनी दिएको छ। अन्तर्राष्ट्रिय श्रम संगठन(आईएलओ) सँग मिलेर डब्लुएचओले गरेको अध्ययनमा मृत्यु हुनेमध्ये एक तिहाई बुढो र मध्यम उमेरका मानिस रहेको बताइएको छ।
धेरैजसो मृत्यु यसरी अफिसमा तनावपूर्ण रुपमा लामो समय काम गरेको केही वर्ष र दशकौंपछि पनि भएको पाइएको छ।
कोरोनाका कारण झन खराब हुनसक्छ
विश्व स्वास्थ्य संगठनको यो अध्ययनमा महामारी आउनुभन्दा पछिको समयलाई उल्लेख गरिएको छैन। डब्लुएचओका अनुसार घरबाटै काम गर्ने व्यवस्था र आर्थिक मन्दीका कारण मानिसहरु लामो समय काम गरिरहेका छन्।
डब्लुएचओका प्राविधिक अधिकृत फ्रान्क पेगाका अनुसार देशव्यापी लकडाउन भएको अवस्थामा त्यहाँ काम गर्नेको समय १० प्रतिशतसम्म वृद्धि हुन्छ। रिपोर्टअनुसार लामो समय काम गर्नु कामसँग जोडिएको तनावको एकतिहाई हिस्सा हो । बढी काम गर्नुपनि कामका कारण हुने तनावको ठूलो कारण बन्दछ।
शोधकर्ताका अनुसार ढिलोसम्म काम गरेका कारण एकातिर दिमागमा तनावको सिधा असर पर्छ भने अर्कोतिर सुर्ती, रक्सीजस्ता लागूपदार्थको लत लाग्ने, कम सुन्ने, व्यायाम नगर्नु र राम्रोसँग खाना नरुच्नेजस्ता समस्या देखा पर्छन्।
इंग्ल्यान्डको लीड्समा काम गर्ने ३२ वर्षीय इन्जिनियर, एन्ड्र्यु फल्सले आफूले अफिसमा लामो समय काम गर्नुपरेका कारण मानसिक स्वास्थ्यमा नराम्रो असर परेको बताएका छन्। उनी भन्छन्, ‘त्यहाँ ५०–५५ घन्टा काम गर्नुपथ्र्यो ।
केही सातासम्म घरबाहिरै हुन्थे । तनाव, डिप्रेशन, एन्जाइटी, खराव फिडब्याक जस्ता कुरा सामान्य थिए । म हरेक समय तनावमा हुन्थे। पाँच वर्ष काम गरेपछि मैले जागिर छाडिदिएँ। विश्व स्वास्थ्य संगठनले कम्पनीहरुलाई आफ्नोमा काम गर्नेको स्वास्थ्य र कामका कारण स्वास्थ्यमा पर्ने असरका बारेमा सोच्न आग्रह गरेको छ । पेगाले यो आर्थिक मन्दीका समयमा काम गर्ने समय नबढाउनु राम्रो हुने सुझाव दिएका छन्।