गोविन्द भुसाल,गुल्मी । गुल्मीमा ठुलो धन राशिको प्रथम मुसिकोट मेयर रनिङ्ग कपको सम्पूर्ण तयारी पुरा भएको छ ।
मुसिकोट नगरपालिकाको नगर खेलकुद विकास समितिको आयोजनमा बुधबारदेखि उक्त कार्यक्रम सञ्चालन हुँदैछ । यसैबीच मंगलबार नगर खेलकुद विकास समितिले पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ।
खेल क्षेत्रमा स्थापित गरी मुसिकोटको पहिचान विश्वव्यापी बनाउने , मुसिकोट नगरपालिकाका विभिन्न धार्मिक र पर्यटकीय स्थलहरुको समेत प्रचारप्रसार गर्ने उद्धेश्य सहित कार्यक्रम आयोजना गरिएको मुसिकोट नगर खेलकुद विकास समितिका अध्यक्ष सन्दिप खत्रीले जानकारी दिए ।
समुद्घाटन खेल पोल १ बाट मुसिकोट नगरपालिका र रेसुङ्गा नगरपालिकाबीच हुनेछ भने भलिबल प्रतियोगीतामा अहिलेसम्म १० समुहले नाम दर्ता गरेको आयोजक टिमले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ । यस्तै कार्यक्रममा विभिन्न राष्ट्रिय कलाकार साथै स्थानीय कलाकारहरुको समेत प्रस्तुति राखिने कुरा अध्यक्ष खत्री जिकिर गरेका छन् ।
मुसिकोट नगरपालिकाको ४ नम्बर वार्डमा रहेको ग्वादिकाचौर खेल मैदानमा हुने कार्यक्रम बुधबार बिहान ११ बजे लुम्बिनी प्रदेश सभा सदस्य डिल्लिराज भुषालले समुद्घाटन गर्ने तय भएको र समुद्घाटन खेल दिउँसो २ बजेदेखि सुरु हुने अध्यक्ष खत्रीले बताए ।
खुल्ला अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगीताको उपाधि जित्ने समुहले नगद रु. १ लाख ५० हजार कप मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । त्यस्तै द्धितिय हुने प्रतियोगी समुहले नगद रु. १ लाख रुपैयाँ कप मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।भने रनिङ शील्ड प्राप्त गर्नका लागि लगातार तिन पटक एउटै प्रतियोगी समुहले उपाधि जित्नुपर्नेछ । त्यस्तै बिधागत पुरस्कारको समेत व्यवस्था गरिएको छ र खेलमा सहभागी हुने समुहलाई ७ हजार ५ सय रुपैयाँ दर्ता शुल्क तोकिएको छ ।


