काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा नेता शेखर कोइराला अनुपस्थित भएका छन् ।
सभापति शेरबहादुर देउवाले आज (शुक्रबार) अपराह्न ३ बजेका लागि धुम्बाराहीमा बैठक राखे पनि ढिलो गरी बैठक सुरू भएको थियो ।
बैठकमा कार्यसम्पादन समिति सदस्य कोइराला अनुपस्थित रहेका थिए । कोइराला नै अनुपस्थित रहेपछि बैठक निष्कर्षविहीन बनेको छ । प्रचार विभाग प्रमुख मीन विश्वकर्माले कार्यसम्पादन समिति बैठक शनिबार पनि बस्ने बताए । ‘बैठकमा आउँछु, आउँछु भन्दै शेखर कोइराला अनुपस्थित हुनुभयो । भोलि उहाँ बैठकमा आउनु हुन्छ अनि छलफल गर्छौं,’ उनले भने ।
कोशी प्रदेशमा सत्ता गठबन्धनबाट माओवादीका इन्द्र आङ्बो र नेपाली कांग्रेसका ८ सांसदसहित एमालेका सांसदको समर्थनमा कांग्रेसका केदार कार्कीले मुख्यमन्त्री दाबी गरेका छन् । कांग्रेसका कार्की नेता शेखर कोइराला निकट हुन् ।
यता नेता कोइरालाले कांग्रेसबाटै मुख्यमन्त्रीमा अर्को नाम दिन वा गठबन्धनबाट उम्मेदवार इन्द्र आङ्बोलाई नै सघाउन गरेको आग्रहलाई पनि अस्वीकार गरेका छन् । कांग्रेस नेताहरुको बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड समेत सहभागी भएर विकल्पमा नाम दिन भन्दा पनि शेखरले नमानेको प्रवक्ता मीन विश्वकर्माले बताए ।
विश्वकर्माले प्रधानमन्त्री प्रचण्ड कांग्रेसले एकमतले निर्णय गरे इन्द्रलाई ब्याक गर्न तयार भए पनि शेखर बाधक बनेको बताए । उनका अनुसार शेखरलाई सभापति शेरबहादुर देउवाले कांग्रेसबाटै अर्को नाम प्रस्ताव गर्न भन्दा उनले केदार कार्कीलाई आफूले नै अघि सारेको भन्दै अरु विकल्पमा छलफल गर्न तयार भएनन् ।
उनले भने, ‘कोशीमा कांग्रेस फुटिहालेको अवस्था होइन । उहाँले अहिले असन्तुष्टि जाहेर गरिराख्नु भएको छ । सबै असन्तुष्टि विभाजनमा जान्छन् भन्ने छैन । यसलाई व्यवस्थापन गर्न सक्छौं भन्ने लागेको छ । आज शेखर दाइको अनुपस्थितिलाई हामीले प्रतीक्षाको रुपमा लियौं । भोलि उहाँको उपस्थितिमा छलफल गर्छौं । यसले विभाजनतिर लैजान्छ भन्ने अनुमान गरेका छैनौं ।’


