काठमाडाैं। वरिष्ठ नेता माधवकुमार नेपालसहित एमालेका चार जना नेतामाथि भएकाे कारबाही फिर्ता भएको छ । बिहीबार बिहान बसेकाे एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षको स्थायी कमिटी बैठकले चार नेतामाथिकाे कारबाही फिर्ता लिने निर्णय गरेको हो।
बैठकले प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीका सम्बन्धमा आवश्यक निर्णय लिन अधिकार प्रत्यायोजन गरेको छ। पार्टीभित्र विकसित पछिल्ला घटनाक्रमको समीक्षा गर्दै एकताको रक्षाका लागि विगतका सबै तीता कुरा बिर्सिएर अगाडि बढ्ने निर्णय गरेको प्रवक्ता प्रदिप ज्ञवालीले जनाएका छन्।
पार्टी एकताको बृहत्तर हितलाई ध्यानमा राखेर आवश्यक कदम चालिने र असन्तुष्ट पक्षसँंग वार्ता गरिने जानकारी उनले बताए ।
यसैगरी बैठकले पार्टी केन्द्रीय सदस्य तथा बाग्मती प्रदेशसभा सदस्य पशुपति चौलागाईंको कोभिड–१९ को सङ्क्रमणका कारण भएको निधनप्रति दुःख व्यक्त गरेको छ। प्रवक्ता ज्ञवालीले उनको निधनबाट पार्टीले एक असल नेता र दोलखालीले अब्बल जनप्रतिनिधि गुमाएको बताएका छन्।
बैठकले शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दै चौलागाईंको सम्मानमा पार्टीको झण्डा तीन दिनसम्म आधा झुकाइने निर्णय गरेको छ।
यसैगरी बैठकमा प्रधानमन्त्री ओलीले कोरोना भाइरस महामारीको पछिल्लो जटिलावस्था र यसको सामना गर्न सरकारले चालिरहेका कदमका सम्बन्धमा जानकारी दिएका थिए ।
बैठकले अक्सिजनको पर्याप्तता, प्रभावकारिता र नियमित आपूर्ति, खोपलगायत जीवनरक्षक औषधिको प्रबन्ध, अस्पतालको पूर्वाधार विस्तारलगायत कामका लागि राज्यको सम्पूर्ण शक्ति परिचालन गर्न र मित्र राष्ट्रबाट आवश्यक सहायता जुटाउनका लागि थप कूटनीतिक पहल गर्न सरकारलाई सुझाव दिएको छ।
बैठकले कोभिड महामारीको अझ तयारी गर्न र अक्सिजनलगायत आवश्यक सामग्री आपूर्ति गर्नका लागि राज्यका सबै संयन्त्र प्रयोग गर्न सरकारलाई सुझाव दिएको उनले जानकारी दिए ।