स्पेनिस क्लब बार्सिलोनाले क्लबका मुख्य प्रशिक्षक रोनाल्ड कोमेनर्ला बर्खास्त गरेको छ। मुख्य प्रशिक्षक बनेको १४ महिनापछि क्लबले उनलाई बर्खास्त गरेको हो।
बीबीसीका अनुसार बुधबार भएको स्पेनिस ला लिगाअन्तर्गतको खेलमा रायो भेलकानोसँग १–० गोलले पराजित भएसँगै कोमेनलाई बार्खास्त गरिएको हो।
बार्सिलोनाले ला लिगामा १० खेलबाट केवल १५ अंक जोडेको छ। बार्सिलोना ला लिगाको समूह तालिकाको नवौं स्थानमा छ। यसअघि गत आइतबार बार्सिलोना रियल मड्रिडसँग पराजित भएको थियो। त्यस्तै यो सिजनको च्याम्पियन्स लिगको समूह चरणको दुई खेल हारिसकेको छ।
एक विज्ञप्ति जारी गर्दै बार्सिलोनाले क्लबका अध्यक्ष जोअन लापोर्टाले कोमेनलाई बर्खास्त गरिएको जानकारी दिइसकेको बताएको छ।
उनको कार्यकालमा क्लबले भोगेको आर्थिक संकटको कारण बार्सिलोनाले मुख्य खेलाडी लियोनेल मेस्सीलाई गुमाएको थियो। उनी अहिले पीएसजी गएका छन्।
त्यस्तै बार्सिलोनाले अन्य खेलाडी पनि टोलीमा ल्याउन सकेन।
बुधबारको पराजयपछि कोमेनले पछिल्लो समय क्लब कमजोर बनेको बताएका थिए। साथै, टोलीले सन्तुलन गुमाएको र अन्य क्लबले राम्रा खेलाडी राख्दै क्लबलाई बलियो बनाएको बताएका थिए।


