काठमाडाैं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय आकांक्षा र स्पष्ट गन्तव्य बोकेकाले आगामी निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने दाबी गरेका छन्।
पार्टीको बागमती प्रदेश आयोजक कमिटीको बैठकमा आज ओलीले अन्य दल र अहिलेको सत्ता गठबन्धनसँग गठजोड र सत्ता स्वार्थ मात्रै रहेकाले जनताले जनादेश नदिने जिकिर गरे ।
अध्यक्ष ओलीले पार्टीले तोकिएको मिति आगामी मङ्सिर १०, ११ र १२ मा १०औं राष्ट्रिय महाधिवेशन आयोजना गर्ने र त्यसअघि स्थानीय तहका अधिवेशन सम्पन्न हुने जानकारी दिए।
‘देशव्यापी जनाधारको शक्ति हामीसँग छ । पार्टीबाट चोइटिएर कम्युनिस्ट आन्दोलनलाई ध्वस्त बनाउँछु भन्नेहरूको सपनालाई जनताले स्वीकृत गर्ने छैनन् । हाम्रा बारेमा कुनै भ्रम छरिएको छ भने त्यसलाई सम्बन्धित नेता–कार्यकर्ताले जनतासमक्ष पुगेर चिर्नुपर्छ । हामी च्याँखे दाउ थापेर होइन, जनादेश लिएर समृद्धिको यात्रा पूरा गर्ने जिम्मेवारीमा पुनः आउनेछौं’, उनले भने।
उनले आफ्नो नेतृत्वको सरकारले गरेका राम्रा कामको प्रचार गर्न पनि निर्देशन दिए।
बैठकमा पार्टीका उपाध्यक्ष एवं बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य, महासचिव ईश्वर पोखरेल, स्थायी कमिटी सदस्य एवं प्रदेश इञ्चार्ज रामबहादुर थापालगायत नेताले पार्टीलाई अझै सशक्तरूपमा सञ्चालन गर्ने गरी कामा गर्न आग्रह गरे।


